(नन-स्पोइलर) ‘भूठान’ कलाको हिसाबले अब्बल र प्रशंसायोग्य छ । पहिलो हेराईमा नै एक्जेक्युसनमा, प्राविधिक रूपमा, पात्रहरूको जीवन्त अभिनय, सिनेमाटोग्राफि वा डिरेक्सनमामा कुनै खोट औँल्याउन म असक्षम छु । मुख्य पात्रको अस्तित्व खोजी र उसको मातृभूमी प्रतिको प्रेमलाई निरन्तर एक्लो रूख र उजाड जमिनसँग गरिएको तुलना कलात्मक रूपमा सुन्दर छ । उत्साहहीन मुख्य पात्र भएपनि दृष्य, र अभिनयमार्फत ‘पात्र र परिस्थिति बीचको द्वन्द्व’ र ‘पात्रहरूबीच फरक-फरक विचारको द्वन्द्व’ले रोचकता ल्याउने र कथा चलायमान बनाउने प्रयास गर्दछ । नन-लिनियर कथाक्रमको सुरुवात जुन हिसाबले बलियो र आशाजनक लागेको थियो, रिजोल्युसन भने खल्लो-खल्लो-अधुरो महसुस गराएको छ । मुख्य पात्र सुरुमा जुन हिसाबले आफ्नो लक्ष्यतर्फ अघि बढ्छन्, कथाले कुनै क्षणमा त्यो स्तरको निकास वा ‘क्लाइम्याक्स’ दिएको छैन । कथा क्यारेक्टर ड्रिभन भएपनि मुख्य पात्रलाई ‘जमिनबाट सारिएको गाडिएको बुढो रूख’ जसरी नै लेखिएको छ, स्थिर छटपटाहट छ तर कुनै सफलता वा प्रोग्रेसन भान हुँदैन ।
कथाले अमेरिकामा स्थापित भईसकेका, वैधानिक नागरिक भइसकेका, सबै परिवार एकै ठाउँमा रहेका, मध्यम-उच्च वर्गकै प्रतिनिधित्व गरेको देखेँ । सबै चिजले सम्पन्न भएको ‘संसारको सबैभन्दा खुसी ठाउँ’बाट आएको मान्छे पनि पराई भूमिमा कसरी निरस हुन्छन्, एक्लिन्छन् भन्ने देखाउन खोजिएको छ । चर्चजस्ता धार्मिक संस्थानले शरणार्थी व्यवस्थापनमा जिम्मा लिनाले जीवन र रहनसहनमा परेको प्रत्यक्ष असर भने देखाइएको छ । तर यसक्रममा ती वास्तविक शरणार्थीहरूको प्रतिनिधित्वको कमी महसुस हुन्छ जो अझैपनि प्रारम्भिक चरणको संघर्ष गरिरहेका, सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगार जस्ता आधारभूत आवश्यकताहरूबाट वञ्चित छन्, र गलत आरोपको कारण नेपाल डिपोर्ट हुन बाध्य छन् । यद्यपी भूठानले, भाषिक-सांस्कृतिक स्वतन्त्रतालाई आक्रमण गर्दै १ लाख नेपालीभाषीहरूलाई देशबिहीन बनाउने भूटान राज्यको साथै पुनर्वास उपलब्ध गराउने ती देशहरूलाई राजनैतिक रूपमा जिम्मेवार तुल्याउन सफल भएको छ जो पुनर्वासितहरूलाई आफ्ना नागरिकसरह भूटान जाने भिसा नदिइएकोबारे कठोर मौनता देखाउँदछन् ।
विनोद पौडेल निर्देशित ‘भूठान, घर हराएको मान्छे (द वर्ल्ड्स ह्यापिएस्ट म्यान), २०२५’ निर्देशककै भाषामा ‘ठहराव’ सिर्जना गर्ने चलचित्र हो । यतिखेर सिनेमा घरमा चलचित्र हेर्न जाँदा म अवचेतन रूपमा के कुरा अपेक्षा गर्नेरहेछु भन्ने प्रश्न मनमा खुब उब्जिरहेको छ । सामान्यत: हँसाउने, रूवाउने, नचाउने, र उत्तेजित पार्ने खालका सबै भाग समाविष्ट भएको चलचित्र हेर्न नै प्राय नेपालीहरू सिनेमा घर गएको देखिन्छ । म पनि ‘त्यो नेपाली दर्शक’ भित्रमै पर्ने रहेछु भन्ने महसुस भएको छ । यसअघि ‘द लाइटहाउस, २०१९’, ‘पर्फेक्ट डेज, २०२३’ जस्ता क्यारेक्टर-ड्रिभन, उदासिन, अनुत्साही चलचित्र घरमै हेर्दा निकै मन पराएको र आफ्नो किसिमले मनोरञ्जित भएको थिएँ । तर त्यस्तै शैलीमा प्रस्तुत गरिएको ‘भूठान’, सिनेमा हलमा हेर्दा ‘किन खासै मज्जा आएन’ भन्ने कुरा मनमा उब्जेको छ । ‘हरिवंश आचार्य’ लाई कास्टिङ गर्दै, नेपाली बजारमा बिक्ने, परम्परागत कथाहरूमा अभिनय गर्ने अनुहारबाट नै, नेपाली दर्शकमाझ मनोरञ्जनको पृथक अनुभव र आयाम परिचित गर्न खोजिएको छ । ८ औँ दिनको सोमा हलको सिट एक तिहाई पनि भरिएको थिएन । यो फरक शैलीलाई आम नेपाली दर्शकले कस्तो रूपमा लेलान् र व्यावसायिक रूपमा कतिको सफल हुन्छ, निर्माताहरूले सायद त्यो अनुमान लगाइसक्नुभएको छ ।
२३ वैशाख २०८२ (६ मे २०२५ मा फेसबुकमा प्रकाशित विचार)


Leave a Reply